बिर्तामोड साउन २५।। झापाको हल्दिबारी गाउँपालिकामा डेंगी संक्रमणबाट एकजना महिलाको मृत्यु भएको छ । हल्दिबारी ३ मा रहेको चिल्ड्रेन गार्डेन अंग्रेजी विद्यालयमा कार्यरत ४२ वर्षीय शिक्षिका बिमला दाहाल पौडेलको डेंगी संक्रमण भएर उपचारको क्रममा बिएन्डसी अस्पताल बिर्तामोडमा आज दिउँसो मृत्यु भएको हो । विगत १३ वर्षदेखि सो विद्यालयमा शिक्षण पेशामा रहेकी दाहालका पति, एक छोरा र एक छोरी रहेका छन् । सामान्य ज्वरो आएर उपचारको लागि प्रादेशिक अस्पताल, ओम साई अस्पताल हुँदै थप उपचारको लागि बिएन्डसी अस्पताल लगिएकोमा उपचारकै क्रममा आज मृत्यु भएको हो ।

झापा- भारतको सिक्किम राज्यको नाम्चीनेर केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ। ४.५ म्याग्निच्युडको भूकम्पको धक्का पूर्वी नेपालको झापालगायत अन्य क्षेत्रमा पनि महसुस गरिएको थियो। उक्त भूकम्पको धक्का भारत, बंगलादेश, नेपाल, भुटान तथा चीनका केही भाग पनि महसुस गरिएको बताइएको छ। भूकम्पको केन्द्रबिन्दु रहेको नाम्ची आसपासमा के कति क्षति भयो भन्ने कुराको जानकारी आइसकेको छैन। भूकम्पको केन्द्रबिन्दु नाम्चीबाट ९ किलोमिटर टाढा रहेको बताइएको छ।भूकम्प बिहान ७ बजेर १२ मिनेट जाँदा गएको हो।

बिर्तामोड साउन २५ ।। आज नागपञ्चमी । आज घरको मूलढोका माथि नागको चित्र टाँसेर नागको पूजा आराधना गरिन्छ । यसरी ढोकामाथि टाँसिएको नागको चित्रले वर्षभरि उक्त घर परिवारका सदस्यहरूको रक्षा गर्ने जनविश्वास छ । श्रावण शुक्ल पक्षको पञ्चमीमा पर्ने यो पर्व नाग देवताका लागि समर्पित गरी पूजा अर्चना गरेमा वास्तवमै नाग देवता समक्ष पुग्ने समेत जनविश्वास रहेको छ । नागपञ्चमीको दिन नागको चित्रमा दूध, दही, अक्षता, फुल, दुबो राखी गाईको गोबरको सहायताले घरको ढोकामाथि अष्ट नागको चित्र टाँस्ने गरिन्छ । यस दिनदेखि वर्षायाम समाप्त भई हिउँदयाम सुरु भएको मानिन्छ । नागलाई धारण गर्ने भगवान् भोलेनाथको पूजा आराधना गर्नु पनि यो दिनमा शुभ मानिन्छ…