इजरायली सेनाले गाजाको सबैभन्दा ठूलो सहरी केन्द्रलाई ध्वस्त पार्दै आफ्नो कब्जामा लिने प्रयास जारी राखेको बेला हमासले गाजामा रहेका ४८ जना बन्दीको ‘बिदाइ तस्बिर’ सार्वजनिक गरेको छ। जसमा नेपाली युवा विपिन जोशीको पनि तस्बिर छ।
हमासको सशस्त्र समूह ‘कसम ब्रिगेड’ले शनिबार अनलाइनमा एउटा संयुक्त तस्बिर सार्वजनिक गरेको हो। उक्त तस्बिरमा जीवित र मृत दुवै बन्दीहरूको अनुहार देखाइएको अलजजिराले जनाएको छ।
प्रत्येक तस्बिरमा सन् १९८६ मा लेबनानमा बेपत्ता भएका इजरायली वायुसेनाका कप्तान रोन अरादको सन्दर्भ दिँदै ‘रोन अराद’ लेखिएको छ।अरादको लडाकु विमानमा बम विस्फोट भएपछि उनलाई पहिले अमाल आन्दोलन र पछि हिजबुल्लाहले नियन्त्रणमा लिएको थियो। उनको मृत्यु भएको विश्वास गरिए पनि आधिकारिक रूपमा भने पुष्टि भएको छैन।
हमासले जारी गरेको तस्बिरसँगै एक सन्देश पनि संलग्न छ, जसमा भनिएको छ, ‘नेतान्याहुको अस्वीकार र जमिरेको समर्पणका कारण गाजा सहरमा सैन्य कारबाही सुरु हुँदा यो एक बिदाइ तस्बिर हो।’