बिर्तामोड ।।अर्जुनधारा नगरपालिका वडा नम्बर ९ घोलधापमा दोस्रो मचिन्द्र सुब्बा स्मृति वडास्तरिय भेट्रान्स नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।
प्रतियोगिता अर्जुनधारा ९ स्थित नमुना सामुदायिक वनको खेलमैदानमा २०८२ भदौ २७ गतेदेखि असोज ६ गतेसम्म सञ्चालन हुनेछ।
गोलधाप युवा क्लबको आयोजनामा हुने प्रतियोगिताबारे आइतबार आयोजित पत्रकार भेटघाटमा जानकारी दिइएको हो । सो कार्यक्रममा क्लबका अध्यक्ष सुरेन राईको अध्यक्षता तथा अर्जुनधारा नगर खेलकुद विकास समितिका सल्लाहकार वीरबहादुर राईको प्रमुख आतिथ्य रहेको थियो । प्रतियोगिताको फाइनल असोज ६ गते सम्पन्न हुनेछ ।
विजेताले नगद ५१ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद ३१ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । विजेताले प्राप्त गर्ने नगद पुरस्कार मचिन्द्र सुब्बाका परिवारतर्फबाट सौजन्य हुने उनका भाइ तथा अर्जुनधारा नगरसभा सदस्य बुद्धिमान लिम्बूले जानकारी दिएका छन् ।
त्यस्तै, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट रक्षक र उत्कृष्ट प्रशिक्षकलाई जनही २ हजार ५ सय रुपैयाँ दिइनेछ । प्रत्येक खेलको उत्कृष्ट खेलाडीलाई भने १ हजार रुपैयाँ पुरस्कार दिइने क्लबले जनाएको छ । ११ साइडको फर्मेटमा हुने प्रतियोगितामा ४० वर्षमाथिका खेलाडीहरूको सहभागिता रहनेछ । तर तीन जना खेलाडी भने ३५ वर्षमाथि उमेर समूहका सहभागी हुन पाउने व्यवस्था गरिएको आयोजकले जनाएको छ । प्रतियोगिता सञ्चालनमा करिब ३ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।