बिराटनगर ।। खाँदबारीबाट धनकुटातर्फ यात्रा गर्ने क्रममा रहेको बोलेरो जीप नदीमा खसेको छ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतका अनुसार प्रदेश १–०२–००२ च ४१०३ नम्बरको बोलेरो सुर्तीबारीस्थित नदीमा खसेको हो।
प्रहरीका अनुसार सोमबार दिउँसो जीपले सोही स्थानमा पैदलयात्री ६६ वर्षीय ढोकरबहादुर पाण्डेलाई ठक्कर दिएको थियो। ठक्करपछि अनियन्त्रित भएको जीप अरुण नदीमा खसेको बताइएको छ।
जीपले ठक्कर दिएका चैनपुरका पाण्डेको उपचार गरिएको छ। उनको अवस्था सामान्य रहे पनि जीपसहित नदीमा चालक २० वर्षीय किरण गुरुङ र जीप धनी ४० वर्षीय रमेश राई खसेको जनाइएको छ। दुई जना मात्र सवार रहेको जीप नदीमा खसेसँगै दुवै जनालाई नदीमा तैरिरहेको अवस्थामा स्थानीय र प्रहरीले उद्धार गरेका थिए।
प्रहरीका अनुसार तुम्लिङगटारस्थित अस्पतालमा उपचाररत दुवै जनाको अवस्था भने सामान्य रहेको छ। प्रहरी र सशस्त्र प्रहरीको टोलीले नदीमा खसेको जीप भने पत्ता लगाउन सकेको छैन।