ताप्लेजुङ भाद्र ६ ।। त्रिभुवन आर्मी क्लबलाई ३-० गोल अन्तरले पराजित गर्दै विर्तामोड युनाइटेड क्बल, झापा ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
ताप्लेजुङ स्थित भानुजन माविको खेलमैदानमा विहीबार भएको क्वार्टरफाइनलमा त्रिभुवन आर्मी क्लबलाई ३-० गोलअन्तरले पराजित गर्दै झापा सेमिफाइनलमा प्रवेश गरेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा झापाले तीन गोल गरेको हो ।
खेलको ४६औँ मिनेटमा झापाका अविशेक गुरुङले गोल गर्दै सुरुवाती अग्रता दिलाएका हुन् । त्यसपछि खेलको ६५औँ मिनेटमा देवेन्द्र तामाङले गोल गर्दै झापाको अग्रता दोब्बर पारेका थिए । त्यसको एक मिनेटपछि खेलको ६६औँ मिनेटमा हिसुब थपलियाले गोल गर्दै झापालाई ३–० गोलअन्तरको जित दिलाए ।
खेलमा म्यान अफ दी म्याच बिर्तामोड युनाइटेडका देवेन्द्र तामाङ घोषित भए । योसँगै सेमिफाइनल समीकरण पूरा भएको छ । फाइनल प्रवेशका लागि अब विर्तामोड युनाइटेड क्बल, झापाले सहलेश फुटबल क्लब सिरहाको सामना गर्नेछ । पहिलो सेमिफाइनलमा शुक्रबार संघर्ष फुटबल क्बलले सगरमाथा फुटबल क्लब मोरङको सामना गर्नेछ ।
प्रतियोगिताको विजेता टिमले पाँच लाख र उपविजेताले २ लाख ५५ हजार ५ सय ५५ प्राप्त गर्ने आयोजकले जनाएको छ।