काठमाडौँ —सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका आफन्तले क्षतिपूर्तिको टुंगो नलागेसम्म शव नबुझ्ने बताएका छन् । बिहीबार त्रिवि शिक्षण अस्पतालमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेकै अगाडि उनीहरूले एयरलाइन्सले क्षतिपूर्तिको टुंगो नलगाएसम्म शव नबुझ्ने अडान लिएका हुन् ।
विहीबार दिउँसो अस्पतालम मन्त्री पाण्डे, सौर्य एयरलाइन्सका एकाउन्टेबल म्यानेजर गोपाल भट्टराई र परिवारका आफन्तबीच छलफल भएको थियो । छलफलका क्रममा एयरलाइन्सका प्रतिनिधि भट्टराईले ‘रिजनेबल’ क्षतिपूर्ति दिइने जनाए पनि रकम खुलाउन सकेनन् ।
मृतकका आफन्तले भने निर्णय गर्न सक्ने एयरलाइन्सका उच्च अधिकारी नै छलफलमा आउनुपर्ने बताएका थिए । मन्त्री पाण्डेले शुक्रबार दिउँसोसम्म सहमतिको प्रयास गरिने आश्वासन दिएका छन् । शुक्रबार दिउँसो २ बजेअघि मन्त्रालय, एयरलाइन्सका प्रतिनिधि र मृतकका आफन्तबीच अस्पतालमा छलफल हुने भएको छ ।