झापा भाद्र ७ ।। आज भाद्र कृष्ण औंशी अर्थात बुबाको मुख हेर्ने दिन प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् ।
शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ ।
आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसैदिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले जानकारी दिए ।
सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतिक मान्दछन् । सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीसँगै पवित्र कुश पनि उत्पन्न गरेको धार्मिक विश्वास छ । आजका दिन घर घरमा राखिएको कुश वर्षभर हुने देवकार्य एवम् पितृकार्यमा प्रयोग गरिन्छ
त्यस्तै आजको दिनलाई बुबाको मुख हेर्ने दिनको रुपमा पनि मनाउने गरिन्छ। जन्म दिने बुबालाई सुस्वास्थ्य दीर्घायुको कामना गर्दै मीठा खानेकुरा र लत्ता कपडा दिएर बुबाको मुख हेर्ने दिनलाई मनाउने गरिन्छ बुबा नहुनेहरूले विभिन्न मठमन्दिरमा गएर पूजा अर्चना गरी आफ्ना दिवंगत बुबाको सम्झना गरी आजको दिनलाई मनाउने चलन रहेको छ।