काठमाडौँ।। विवादका कारण निर्धारित मिति अर्थात् असार १० मा बजेट ल्याउन नसकेको काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट असार २९ गते ल्याउने भएको छ । शुक्रबार बसेको कार्यपालिकाको बैठकले बजेट आइतबार ल्याउने निर्णय गरेको हो ।
प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई लिएर मेयर बालेन्द्र साह र अन्य जनप्रतिनिधिबीचको विवादबीच शुक्रबार बसेको कार्यपालिका बैठकमा नयाँ बजेट असार २९ गते पेश गर्ने सहमति बनेको हो ।
काठमाडौँ महानगरकी उपप्रमुख सुनीता डङ्गोलले नगर सभामा उक्त बजेट पेश गर्नेछिन् । शुक्रबार बसेको स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठकले आगामी आर्थिक वर्षका लागि बजेटको आकार निर्धारण गरिसकेको छ ।
उपमेयर सुनिता डंगोल र केही प्रतिनिधि वडाध्यक्षहरू सहितको बैठकले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ११ करोड ३४ लाख रुपैयाँको बजेट ल्याउने गरी सीमा निर्धारण गरेको हो ।
मेयर बालेन्द्र साहको कार्यकक्षमा समितिका सदस्य सचिव एवम् प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंसहितको बैठकले बजेटको आकार तय गरेको हो ।
बैठकले आर्थिकतर्फ तीन प्रतिशत, पूर्वाधारतर्फ ५१ प्रतिशत, सामाजिक विकासतर्फ २० प्रतिशत, सुशासन तथा अन्तरसम्बन्धतर्फ १२ प्रतिशत र कार्यसञ्चालन तथा प्रशासनतर्फ १४ प्रतिशत हुने गरी सीमा निर्धारण गरेको महानगरपालिका स्रोतले जानकारी दिएको छ ।
गत पुस पहिलो सातादेखिको किचलोले पूर्णविराम पाउँदै महानगर बजेट ल्याउने बिन्दुमा पुगेको हो । यसअघि प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई बाइपास गरेर मेयर साहले बैठक राख्न खोजेपछि बजेट रोकिएको थियो ।