एजेन्सी ।। भारतको तेलंगाना राज्यको संगारेड्डी जिल्लास्थित पासामईलरम औद्योगिक क्षेत्रको सिगाची केमिकल्स फ्याक्ट्रीमा भएको र आगलागीमा परी कम्तीमा ३४ जनाको ज्यान गएको छ।
सूचना अधिकारीका अनुसार घटनामा हालसम्म ३५ जना घाइते भएका छन् र तिनीहरूको विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ। २४ जना अझै हराइरहेका जनाउँदै खोजी कार्य जारी रहेको जानकारी दिएको छ। घटनास्थलबाट ५७ जनालाई सुरक्षित उद्धार गरिएको छ।
ज्यान गुमाउनेमध्ये चार जनाको पहिचान भइसकेको छ। बाँकीको पहिचानका लागि प्रयास भइरहेको जनाइएको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्दै सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘तेलंगानाको संगारेड्डीमा फ्याक्ट्रीमा आगलागी हुँदा मानिसहरूको मृत्यु भएको खबरले म अत्यन्त दुःखी छु। पीडित परिवारप्रति समवेदना व्यक्त गर्दछु र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।’
प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट मृतकका परिवारलाई प्रतिव्यक्ति दुई लाख रुपैयाँ र घाइतेहरूलाई ५०–५० हजार रुपैयाँको आर्थिक सहायता उपलब्ध गराइने जानकारी पनि उनले दिएका छन्।
यससँगै बिहार सरकारले समेत मृतकहरू बिहारका बासिन्दा भएमा तिनका आश्रितलाई दुई–दुई लाख रुपैयाँ र घाइतेहरूलाई ५०–५० हजार रुपैयाँ सहायता उपलब्ध गराउने घोषणा गरेको छ।