झापा।। हाल वर्षा गराउने प्रणाली कर्णाली, लुम्बिनी, गण्डकी, बागमती हुँदै कोशी प्रदेशसम्म आइपुगेको छ।
हावाहुरी, मेघगर्जन र चट्याङसहित वर्षा गराउने प्रणाली कर्णाली लगायत बिभिन्न ठाउँ हुदै कोशी प्रदेशसम्म आइपुगेको जल तथा मौसम विज्ञान विभागले जनाएको हो।
बिभागका अनुसार बितेको २४ घन्टामा वर्षा मापन भएका १ सय ८१ केन्द्रमध्ये सबैभन्दा बढी झापाको अनारमनी बिर्ता केन्द्रमा ७६ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ ।
यसैगरी मौसम पूर्वानुमान महाशाखाको तथ्याङ्क अनुसार अहिले गण्डकी प्रदेशभन्दा पूर्वतर्फ धेरै ठाउँमा पानी परिरहेको छ । गण्डकीबाट पश्चिमतर्फ भने वर्षा रोकिन थालेको छ । ललितपुरको गोदावरीमा ३ घण्टामै ५६ मिलिमिटरभन्दा धेरै पानी परेको छ । यस्तै स्याङ्जामा ५१ मिलिमिटर र दोलखाको जिरीमा ४० मिलिमिटर वर्षा भएको छ ।
हाल सक्रिय भएको प्रणालीले आउँदो ३ दिनसम्म हावाहुरी, चट्याङसहित वर्षा गराउने सम्भावना रहेको मौसमविद्को अनुमान छ ।
यसरी स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव थपिएकोले हावाहुरी र चट्याङसहित केही ठाउँमा निकै ठूलो वर्षा गराएको जलवायु विपद् विज्ञ डा. धर्मराज उप्रेतीले समेत भनेका छन्।