अर्जुनधारा । अर्जुनधारा वडा नम्बर ४ अर्जुनधारा नगरपालिकामा जारी प्रथम वडा स्तरीय टि-टवेन्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
हिजोको दोस्रो क्वार्टर फाइनल खेलमा वडा नम्बर ३लाई ६४ रनले पराजित गर्दै वडा नम्बर ४ ले सेमिफाइनलमा स्थान बनाएको हो।
अर्जुनधारा नगर खेलकुद विकास समितिको आयोजनामा जारी प्रतियोगिताको आज भएको दोस्रो खेलमा वडा नम्बर ४ ले टस जितेर पहिलो ब्याटिङ रोजेको थियो। उसले २० ओभरमा नौ विकेट गुमाएर १३९ रन बनायो।
१४० रनको लक्ष्य पछाएको वडा नम्बर ३ ले जवाफी ब्याटिङमा दरिलो प्रदर्शन गर्न नसक्दा हार बेहोर्न पुग्यो। उसले १६ ओभर १ बलमा सबै विकेट गुमाएर ७५ रन मात्रै बनाउन सक्यो ।
४ नम्बर वडाका लागि ३२ बलमा ४९ रन प्रहार गरेका अर्जुन डाँगी खेलको प्लेयर अफ दि म्याच घोषित भए। उनले नगद १ हजार पुरस्कार पाए। उनलाई आयोजक अर्जुनधारा नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमाल, , सचिव खगेन्द्र लिङ्देन सहितले पुरस्कार प्रदान गरे ।
यस अघि आजै भएको पहिलो क्वाटर फाइनल खेलमा वडा नम्बर १ लाई ८ विकेटले पराजित गर्दै वडा नम्बर २ विजय बनेको छ।
प्रतियोगितामा आज वडा नम्बर ८ र वडा नम्बर ९ बीच सेमिफाइनल प्रवेशका लागि खेल हुनेछ।
चैत्र २५ गते सम्पन्न हुने प्रतियोगिताको विजेताले नगद ५० हजार तथा उपविजेताले नगद २५ हजारसहित ट्रफी तथा मेडल पुरस्कार पाउनेछ।