रोङ माघ २६ ।। इलामको रोङ गाउँपालिका वडा नं ६ जिर्मलेमा दोस्रो जिर्मले फुटबल लिग २०८१ आजबाट सुरु भएको छ । आज भएको उद्घाटन खेलमा खर्कगाउँ एफसीले पहिलो संस्करणको विजेता लामिटार एफसीलाई ३–२ गोल अन्तरले पाराजित गर्दै ३ अंक जोड्न सफल भएको छ ।
जिर्मले फुटबल लिग संचालक समितिका अध्यक्ष भुवन तामाङको अध्यक्षतामा आयोजित कार्यक्रमको प्रमुख अतिथिको रुपमा रोङ गाउँपालिकाका अध्यक्ष मणी कुमार तामाङ सुवास रहेका थिए । त्यस्तै पालिका उपाध्यक्ष विष्णुमाया खवास लगायत विभिन्न वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, स्थानीय समाजसेवी, खेलप्रेमीको आतिथ्यमा सम्पन्न कार्यक्रममा उपस्थित सम्पूर्णलाई वडा नम्बर ६ का वडाध्यक्ष सत्यम् राई चौरासेले शाब्दिक स्वागत गरेका थिए ।
प्रतियोगिताको बिचमा देखाइएको सांस्कृतिक प्रस्तुतीले त्यहाँ थप रौनकता प्रदान गरेको देख्न सकिन्थ्यो ।
विभिन्न १० वटा टिम सहभागि भएको प्रतियोगिताको विजेता टिमले नगद ७५ हजार, ट्रफी, मेडल र प्रमाण पत्र पाउने छ भने उपविजेता टिमले नगद ५० हजार, ट्रफी, मेडल र प्रमाण पत्र साथै तेस्रो हुने टिमले नगद २५ हजार ट्रफी, मेडल र प्रमाण पत्र पाउने आयोजकले जानकारी दिएका छन् ।
कार्यक्रममा शुभकामना मन्तव्यका क्रममा खेलाडी उत्पादन र खेलकुदको विकासको लागि रोङ गाउँपालिकाले आगामी दिनमा पनि यस्ता प्रतियोगिताहरु आयोजना गर्दै जाने प्रमुख अतिथि मणि कुमार तामाङले जानकारी दिएका छन् ।